श्रीलंका बमकाण्डमा गम्भीर सुरक्षा कमजोरी :सरकार, रक्षा सचिव कारबाहीमा

कोलम्बो । श्रीलंकामा गएको आइतबार भएको बमकाण्डमा गम्भीर सुरक्षा कमजोरी भएको महसुस गर्दै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रक्षा सचिव हेमसिरी फर्नाण्डोलाई सो पदबाट हटाएका छन् । उनले प्रहरी प्रमुख पुजीथ जयासुन्दरालाई पनि हटाउने तयारी गरेका छन् ।
आइतबारको सो घटनामा ३५९ जनाको मृत्यु भएको छ भने करिब ५०० मानिस घाइते भएका छन् ।

भारतको गुप्तचर निकायले सम्भावित आक्रमणको बारेमा अप्रिल महिनाको सुरुमा नै श्रीलंकाका अधिकारीहरुलाई सूचना दिएकोमा सो सूचना राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री रणिल बिक्रमासिंघेलाई नदिइएको अहिले आएर खुलासा भएको हो ।

आइतबार बम आक्रमण गर्ने व्यक्ति मध्येका एक जना बेलायतमा पढेको र अष्ट्रेलियामा पनि अर्को कोर्ष पूरा गरेको व्यक्ति भएको श्रीलंकाका अधिकारीहरुले बुधबार जनाएका थिए । श्रीलंकाका उपरक्षामन्त्री रुवान विजेवार्देनेल सो जानकारी गराएका हुन् ।

श्रीलंकाको प्रहरीका अनुसार ९ जना आक्रमणकारी मध्ये ८ जनाको उनीहरुले पहिचान गरिसकेका छन् । ती मध्येमा १ जना महिलापनि भएको विश्वास गरिएको जनाइएको छ । ती मध्येका कोहीपनि विदेशी नभएको अधिकारीहरुले बताएका छन् । आक्रमणकारी सबै शिक्षित र मध्यम तथा उच्च मध्यम परिवारबाट आएका व्यक्ति भएको जनाइएको छ ।

आतंककारीले कुनै चेतावनी नदिई आक्रमण गर्न सक्ने यसअघि नेपालको राजदूत रहीसकेकी र अहिले श्रीलंकाकालागि राजदूत रहेकी एलाइना बी टेप्लीजले बुधबार पत्रकारहरुसँग कुरा गर्दै भनेकी थिइन् । प्रहरीले अहिले सम्म ६० जनालाई गिरफतार गरेको जनाइएको छ । (बीबीसी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार