कर्णाली सरकारको एक वर्ष : आफ्नो नजरमा हिरो, जनताका नजरमा जिरो

फाल्गुन ३ गते कर्णाली प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ । एक वर्षमा कर्णाली सरकारले गरेका काम कारबाहीले कतै जनतामा उत्साह जगाएको छ भने कतै निरासा पनि बढाएको छ । प्रदेशका अधिकांश जनताले प्रदेश सरकारले उपलब्धिमूलक काम गर्न नसकेको टिप्पणी गरेका छन् । यद्यपी सरकारको कामकारबाहीप्रति सन्तुष्टि जनाउनेहरू पनि नभएका भने होइनन् । तर, सरकारका मन्त्रीहरू भने वर्ष दिनको अवधीमा आफूहरूले उत्कृष्ट काम गरेको दावी गरेका छन् । सरकार गठन भएको एक वर्षमा प्रदेश सरकारले १८ विधेयक पारित गरेको छ भने ८ वटा विभिन्न विधेयकहरु प्रदेशसभामा पेश गर्न स्विकृती प्रदान गरेको छ । त्यस्तै २४ वटा विधेयकमा सैद्दान्तिक स्वीकृति प्रदान गरको छ । त्यस्तै कर्णाली सरकारले यही अवधीमा २८ वटा नीति, नियमावली, कार्यविधि, मापदण्ड तथा निर्देशिकाहरु स्वीकृत गराएको छ । ४४ वटा कार्यविधिहरु पनि प्रदेश सरकारले यही अवधीमा तर्जुमा गरी कार्यान्वयनमा रहेका छन् । प्रदेश सरकारले एक वर्षभित्रै प्रदेश मातहतमा १ सय ८ वटा संगठन संरचना खडा गरी सेवा प्रवाह विस्तार गरेको छ । प्रदेश समन्वय परिषद्को बैठकले ३४ बुँदे साझा प्रतिवद्धता, ४० पटक मन्त्रिपरिषद्को बैठक बसी विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । त्यस्तै बजेटका सन्दर्भमा हालसम्म चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनको प्रथम चौमाशिकको लागि बिनियोजन बजेट २ अर्ब ६४ करोड ६३ लाख ५६ हजार मध्ये खर्च प्रगती १९.२० प्रतिशत छ । त्यस्तै पर्यटनका क्षेत्रमा कर्णालीमा चर्चामा रहेको रारा पर्यटन वर्ष २०७५ प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा सम्पन्न, लगाएतका बाढी पीडितका लागि समिति गठन, भैपरी आउने प्राकृतिक प्रकोपमा प्रदेश सरकारको उपस्थिती लगाएतका काम पनि कर्णाली सरकारले यही अवधीमा गरेका मुख्य उपलब्धिमध्ये हो । यीनै काम देखाएर सरकारमा रहेकाहरुले आफूहरुले यो अवधीमा उल्लेख्य कार्यसम्पादन गरेको बताइरहेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको संक्षिप्त वार्षिक विवरण कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक वर्षको अवधिमा सरकारले उपलब्धिमूलक काम गरेको दावी गरे । मुख्यमन्त्री शाहीले कर्णाली सरकारले उल्लेख्य काम गरेको दावी गरिरहँदा जनता भने सरकारको कामकारबाहीप्रति सन्तुष्ट छैनन् । संघीयता कार्यान्वयनको गहन जिम्मेवारी पाएको र पहिलो प्रदेश सरकारले फितलो प्रदर्शन गरेको भन्दै उनीहरू सरकारको गतिप्रति असन्तुष्ट देखिएका छन् । पञ्चपुरी नगरपालीका-१० की दुर्गा ढकाल प्रदेश सरकारको गतिदेखि सन्तुष्ट नहुने मध्येकी एक हुन् । उनलाई जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको लागेको छ । सुरूमा जनतलाई ठूलो आशा देखाएर मुलुक संघीय प्रणालीमा होमिए पनि एकात्मक प्रणालीमा भन्दा फरक अनुभूति गर्न नपाएकोमा सरकारप्रति गुनासो छ । त्यस्तै सरकारको कामकारबाहीबाट सन्तुष्ट हुन नसकेका अर्का प्रतिनिधि पात्र हुन् वीरेन्द्रनगर-८ का घनश्याम ज्ञवाली । उनलाई पनि चिल्ला भाषणमा आफूहरूलाई लठ्ठ पारिएको तर, सरकारको ‘परफरमेन्स’ त्यो अनुरूप हुन नसकेको गुनासो छ । प्रदेश निर्माण हुँदै गर्दा जनताले सरकारबाट जुन अपेक्षा गरेका थिए त्यो पूरा हुन सकेको छैन । जनताका दैनन्दिने समस्याहरू प्रदेश र स्थानीय तहबाटै समाधान हुने धेरैको अपेक्षा थियो । प्रदेशसभामार्फत सबैभन्दा पहिले नाम र स्थायी राजधानी टुंग्याएर प्रदेशले आफूलाई अरूभन्दा भिन्न देखाउने प्रयास गरेको थियो । तर, त्यसयता सरकारले नीतिगत तहमा केही उल्लेख्य कार्य गरेको देखिए पनि जनताले अनुभूति गर्नेगरी परिवर्तन आउन सकेको छैन । जसका कारण केही राम्रा काम गरेको भए पनि कर्णाली प्रदेश सरकार आलोचनामुक्त हुन सकेको नदेखिएको धेरैको टिप्पणी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार