पोखरामा बालक हत्याको आरोपमा एक युवा पक्राउ

युवतीको विषयमा विवाद भएपछि पोखरामा एक बालकको हत्या भएको छ । युवतीसँगै बसेर मादक पदार्थ सेवन गरी युवतीकै विषयमा एक आपसमा विवाद उत्पन्न भएपछि पोखरामा पाल्पाका १४ वर्षीय सचिन सिन्जालीको मुत्यु भएको प्रहरीले जनाएको छ ।

पर्वतको मल्लाज बस्ने २१ वर्षीय बेनी काले भनिने कुमार गर्बुजालाई बालकको हत्या गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले उक्त घटनाबारे मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै उक्त घटना युवतीको विषयमा भएको बताएको छ । मादक पदार्थ सेवन गरी एक आपसमा भनाभन पछि हत्या भएको प्रहरीको भनाइ छ ।

उक्त घटनामा संलग्न भएका बेनी कालेलाई प्रहरीले घटना भएको केही घण्टामै निणन्त्रणमा लिएर सोधपुछ गर्दा हत्या गरेको स्वीकारेको कास्कीका प्रहरी उपरीक्षक (एसपी) ओम बहादुर रानाले बताए । सोमबार दिउँसो करिब १५ बर्षकी सुनिता गुरुङ सहित तीन जनासँगै मादक पदार्थ सेवन गरेको र पछि सुनिता पृथ्बीचोक तर्फ लागे पछि भनाभन भएसँगै आफुलाई सिंजालीबाट पहिला खुट्टामा चक्कु प्रहार गरेपछि सोही चक्कु खोसेर उनलाई घाटीमा रेटेर छाडेको अभियुक्त सिंजालीले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

पाल्पा रम्बापानी गाउँपालिका घर भइ लेकसाइड शान्ति नगरमा बस्दै आएका १४ वर्षीय सिन्जालीको हल्लनचोकमा निमार्णधीन एक भवन मुनी मंगलबार करिब २:३० बजे प्रहरीले मृत अबस्थामा शव भेटेको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको केही घण्टामा अभियुक्त पक्राउ गरेसँगै अन्य अभियुक्तहरु १० घण्टाभित्रै नियन्त्रणमा लिन सफल भएको कास्की प्रहरीले जनाएको छ ।

बालकका बाबु गोविन्द सिन्जालीले लेकसाइडकै शान्ति पाटनमा फ्रेसहाउस सञ्चालन गर्दै आएका छन् । बाबु गोविन्दले बालक प्रायः उनकी आमासँग हल्लनचोकमा बस्ने गरेको र दिनको एक पटक आफ्नो पसलमा आउने गरेको बताए । उनले भने, ‘हिजो बिहान मेरो पसलमा आएको थियो बिहान १० बजेसम्म मसँगै थियो, एक्कासी यस्तो घटना घटेछ, घटनामा दोषी उपर कारबाही गर्न माग गर्छु ।’

छोरा आफुसँग बस्ने नगरेको र पहिले हजुरआमासँग बस्ने गरेको बताउँदै बाबु गोविन्दले प्रायः आमासँगै बस्छु भनेर भन्ने गरेको र कहिले साथीहरुसँग सुत्छु भन्ने गरेको बताए । उनले आफ्नो  श्रीमतीसँग बोलचाल नभएको १२ बर्ष भएको जनाए ।

गोविन्दका २ छोरा मध्ये सचिन कान्छा हुन् । बालककी आमा सुनिता मगर उक्त घटना सुन्न साथ भावबिह्वल भएकी छन् । आमा सुनिताले लेकसाइडको हल्लनचोकमा अनन्तरा स्पा सञ्चालन गर्दै आएकी छन् ।

यस अघि पोखराको पालिखेचोकमा सडक पेटिमा बस्ने एक जना व्यक्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । उक्त घटनामा संलग्न व्यक्तिको भने हालसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन ।

 

घटना विवरण

घटनास्थलमा मुख्य अभियुक्त कुमार गर्बुजा, मोटे भनिने सुसान्त परियार, डल्ली भनिने १५ बर्षीया सुनिता गुरुङ दिउसो ४ बजे तिर रक्सी पिएका र सोही समयमा मृतक गोरे भनिने सचिन सिंजाली आई उनीहरुसँग रक्सी पिएको प्रहरीले जनाएको छ ।

करिब ४:३० बजेको समयमा सेन्टरपोईन्ट भित्र मृतक सचिन, कुमार र सुनिता गुरुङ ले एक सय को छ्याङ खान गएको मुख्य अभियुक्त सिंजालीले प्रहरीलाई दिएको बयानमा उल्लेख गरिएको छ ।

त्यसै गरी ५ बजेदेखि ७ बजेसम्म सेन्टरपोईन्टमा पैसा माग्न बसेको, बेलुका ७ बजे देखि ९ बजेसम्म क्याम्पिङ चोकमा बाहुन भनिने बुद्ध रिजालसँग भेटी मुख्य अभियुक्त सिंजाली टहलिएको । ९ बजे त्यहाँबाट निस्की पुनः मृतक सचिन, कुमार, सुनिता, सुसान्त र घटनास्थल सुकदेव पुगेसँगै डेनड्राईट सुग्दै बसेको प्रहरीले जनाएको छ ।

सोही क्रममा सुनितासँग सचिन बोलेको र विबाह गर्ने कुरा गरेको उक्त कुरा सुनेपछि मुख्य अभियुक्तलाई भित्र-भित्र आफ्नो गर्ल फ्रेन्डसँग त्सस्तो कुरा गर्दा जलन भई कुमारले मनमा म केही गरेर देखाउछु भन्ने सोचेको कुरा उनले बयान दिएको प्रहरीले बताएको छ ।

सुनिता १०:३० बजेतिर पृथ्वी चोकतिर सुत्न भनी गएकी त्यसपछि कुमार, मृतक सचिन, सुशान्त, सुकदेव माग्न भनि बिजिबि अगाडि गएको र पैसा मागेको त्यसपछि मध्य राति १२ बजे बजेतिर पुनः सुत्ने स्थान (घटनास्थल) पुगी २ बोतल बियर र एउटा स्याउको रक्सी (बटारे) पिउन सुरु गरेको ।

२ जना बालकहरुलाई तिमिहरु सुत भनी सुत्न लगाएको तर उनीहरु भने ननिदाई बसेको त्यसै क्रममा कुमार र सचिन बीच पुन केटीको (सुनिता) को विषयमा बादबिवाद हुँदा सचिनसँग भएको सानो हाते चक्कु निकाली अभियुक्त कुमारलाई खुट्टामा प्रहार गरी घाईते बनाएको र कुमारले चक्कु खोसी घोप्टो पारी घाँटी रेटेको प्रहरीले जनाएको छ ।

चक्कुले पेट र ढाडमा २ र ३ पटक प्रहार गरी करिब १२:४५ बजे फरार भएका २ जना बालकहरु पनि डरले कुमार सँगै डरले काप्दै भागेको बताइन्छ । मुख्य अभियुक्त सिंजालीले ट्याक्सी रिजर्ब गरी पृथ्वी चोकमा झरी शान्तिवन बाटिका जाने बाटोभित्र चक्कु ढुंगाले छोपी पुनः पृथ्वी चोकमा फर्केको र २ जना बालकहरुलाई त्यही छाडी पुनः कुमार घटनास्थल हेर्न भनी करिब २:१५ बजे ट्याक्सीमै आएको उनलाई मरेको देखेपछि उत्तानो बनाई सुताई बाहिर निस्की ट्याक्सी रोकी प्रहरीलाई खबर गर्न भनेको कास्की प्रहरीले जनाएको छ ।

एक ट्याक्सी चालकले सेन्टरपोईन्टमा आई प्रहरीलाई एक सयमा खबर गरेको त्यसपछि प्रहरीले घटनास्थल सुरक्षित राखी अनुसन्धान थालेसँगै प्रहरीले २९ गते बिहान बेनी कालेलाई लेकसाईडबाट समातेको प्रहरीले जनाएको छ । त्यसै गरी प्रहरीले सुकदेवलाई बराहीघाटबाट र सुशान्तलाई न्युरोडबाट समातेको जनाएको छ । उक्त घटनाको विषयमा बैदाम प्रहरीको सिसि क्यामेरा मसेत कैद भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार