जहाँ भूत-प्रेत भगाउन सयौं मान्छेको बीचमा अश्लील गाली दिइन्छ

विश्व २१ औं शताब्दीमा छ । अहिलेको विश्वलाई सूचना प्रविधिको युग भनिन्छ । विज्ञानले चमात्कारिक विकास गर्दै एकपछि अर्को उल्लेख्य उपलब्धि हासिल गरिरहेको छ । यद्यपी कतिपय स्थानका परम्परा र संस्कृतिमा भने त्यसले पर्याप्त प्रभाव पार्न सकेको देखिँदैन ।

दुनियाँमा अहिले कतिपय यस्ता स्थानहरू पनि छन्, जहाँ आधुनिक विश्वमा अनौंठो मानिने प्रचलनहरू यथावत नै छन् । ती स्थानहरूका निश्चित धर्म, संस्कृति र परम्परामा आधुनिक विश्वको छायाँ पनि परेको छैन ।

यस्तै एउटा परम्परा हो भारतस्थित हिमाचल प्रदेशको मण्डी जिल्लामा मनाइने पर्व । सराजमा फागली उत्सवको रमझम छ । हिमाचलको कुल्लू तथा मण्डी जिल्लाबाट आएका सयौं मानिसहरू उक्त उत्सवमा सहभागी भइरहेका छन् । नैहरा, कटुरणी, परखोल, साँगचा, पाली तथा थुनाडीलगायतका गाउँमा धुमधामका साथ मनाइँदै छ ।

 

यस पर्वमा मानिसहरू खराबविरूद्ध असल, पापविरूद्ध पुण्य, अधर्मविरूद्ध धर्मको विजयगाथा गाइरहेका छन् । फालगी उत्सवका क्रममा मानिसहरू डायन तथा राक्षसी शक्ति एवं भूतप्रेत भगाउँन सयौं मानिसका बीचमा अश्लील गाली दिन्छन् । स्थानीय तथा यो उत्सवमा सहभागीहरूले यो वर्षौं पुरानो परम्परा भएको प्रतिक्रिया दिएको भारतीय सञ्चारमाध्यम अमर उजालाले लेखेको छ ।

समाचारमा जनाइए अनुसार फागली उत्सव भगवान विष्णुको दश अवतारका लीलाका प्रतिक हो । यो फागुन संक्रान्तिदेखि तीन तथा पाँच दिनसम्म मनाइन्छ । उत्सवका क्रममा देवताका गणहरूको परम्परागत रूपमा ढोल, नगरा, शहनाई, डफली, काहुलीलगायत करतल ध्वनिका साथ मानिसहरू भगवान् विष्णुको पालकीका साथ देवक्रिडामा भाग लिन्छन् ।

भगवान विष्णुले पुसको अन्तिम हप्ता स्वर्गको यात्रा गरेको तथा मकर संक्रान्तिको पूर्वसन्ध्यामा पृथ्वीमा आगमनपश्चात उनको पहिलो धार्मिक अवतार समारोहका रूपमा मनाइने प्रचलन रहेको जानकारहरूलाई उदृत गर्दै अमर उजालाले लेखेको छ । यसक्रममा विष्णुले रचेको लीलाको गुणगान १८ लोक गीतका माध्यमबाट गरिन्छ ।

अश्लील गालीलाई फागली उत्सवको एक महत्वपूर्ण अंग मानिन्छ । जसका कारण त्यहाँ सार्वजनिक रूपमै अश्लील गाली दिनुलाई खराब नमानिने उक्त रिपोर्टमा उल्लेख छ । कतिपय स्थानमा महिलाहरू पनि गीतका माध्यमबाट अश्लील गाली दिने गरेको समाचारमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार