सर्वाधिक पुरस्कार राशिको लोकस्टारको अडिसन धनगढीबाट

आयोजकले नेपालकै सर्वाधिक राशिको लोक आइडल भनेर दावी गरिरहेको रियालिटी सो ‘नेपाल लोक स्टार’ धनगढीबाट सुरू हुने भएको छ । यही फागुन १६ गते सुदूरपश्चिमको धनगढीमा उक्त सो को पहिलो अडिसन हुने आयोजक चाहना मिडिया प्रा.लि.ले जानकारी दिएको छ ।

आइडलको दोस्रो अडिसन राउन्ड फागुन २० गते कर्णाली प्रदेशको राजनधानी वीरेन्द्रनगरमा हुने चाहना मिडियाले जानकारी दिएको छ । नेपालका सबै जिल्ला तथा समुदायमा प्रचलनमा रहेका मौलिक गीतहरुको प्रचार प्रसारसँगै व्यावसायीकरणको उद्देश्यसहित आयोजना गर्न लागिएको आइडलअन्तर्गत सातवटै प्रदेशमा अडिसन सञ्चालन गरिने छ ।

प्रदेशमा गरिएका अडिसनबाट सहभागीहरुमध्ये उत्कृष्ट ७० देखि १०० जना छनोट गरी काठमाडौंमा हुने मुख्य अडिसनमा सहभागी गराइने चाहाना मिडियाका अध्यक्ष सहदेव कोईरालाले जानकारी दिए ।

कोइरालाका अनुसार उत्कृष्ट २० सम्मको छनोट निर्णायकले गर्नेछन् । त्यस्तै उत्कृष्ट २० देखि उत्कृष्ट १० सम्मको छनोटमा भने निर्णायकको ५० प्रतिशत र ५० प्रतिशत दर्शकको भोटिङको भूमिका रहने उनले जानकारी दिए ।

उनका अनुसार प्रतिश्पर्धी स्तर बढ्दै जाँदा निर्णायकको निर्णायक भूमिकामा पनि कमी आउँदै जान्छ । जस अनुसार सुरूमा शतप्रतिशत अधिकार राख्ने निर्णायक उत्कृष्ट १० देखि फाइनलसम्म २० प्रतिशत निर्णयमा खुम्चनेछन् भने बाँकी दर्शकको भोटिङका आधारमा निर्णय हुनेछ ।

‘नेपाल लोक स्टार’बाट आईडल बन्ने प्रथमलाई ५० लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको कोइरालाले जानकारी दिए । उनका अनुसार द्वितीयलाई २५ लाख र तृतीयलाई १० लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । नगद पुरस्कार कर कट्टा गरेर दिइने आयोजकले जनाएको छ । आईडलमा उत्कृष्ट दुईजनालाई सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

पहिलो राउण्डको अडिसनमा प्रत्यक्ष सहभागी हुन नसक्ने ईच्छुकले मोबाइलबाट पनि अडिसन दिन सक्ने आयोजकले जनाएको छ । जसका लागि नेपाल लोक स्टारको मोबाइल एप्स डाउनलोड गरी आफूले प्रत्यक्ष रुपमा लोक गीत गाएको भिडियो अपलोड गर्नुपर्ने छ । आयोजकका अनुसार चाहना मिडिया र नेपाल लोक स्टारको वेबसाइटमा गइ अनलाइनमार्फत पनि आवेदन दिन सकिने छ । सहमागी हुन चाहनले प्रत्यक्ष रुपमा फारम भर्न पनि सक्नेछन् ।

सुर्खेतका लागि भने एपीवान एचडी टेलिभिजनको कार्यालय र जागरण एफएमको कार्यालयबाट फारम उपलब्ध गराउने व्यवस्था गरिएको छ । फारम शुल्क १ हजार रुपैयाँ तोकिएको छ ।

‘नेपाल लोक स्टार’को निर्णायकहरुमा संगीतकार जयनन्द लामा, बरिष्ठ संगीत संयोजक तथा गायक बिबी अनुरागी, गायक रामजी खाँड र गायिका सुनिता दुलाल रहने छन् । अडिसन राउण्डअन्तर्गत भएका कार्यक्रमको प्रत्येक शनिबार आईतबार राति ८:३० देखि ९:३० बजेसम्म एपीवान एचडी टेलिभिजन तथा लोक स्टरको युट्युब च्यानल, फेसबुक पेजबाट प्रशारण गरिने छ ।

नेपाली लोक संगीतमा लाग्नेहरुलाई अवसर र हौसला सिर्जना गरी लोक संगीतको प्रयोगमा महत्व दिँदै व्यवसायीकरण तथा प्रचारप्रसारमा सघाउ पुर्याउने उद्देश्यले ‘नेपाल लोक स्टार’ आयोजना गरिएको कोईरालाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार