नेपालमा ३ हजार मेगावाट वायु उर्जा उत्पादन गर्न सकिने

काठमाडौंः नेपालमा कुल ३ हजार मेगावाट वायु ऊर्जा उत्पादन गर्न सकिने प्रारम्भिक तथ्यांक देखिएको छ । ससाना एकाइमा उत्पादन हुने गरी जडान गरेका वायु ऊर्जा प्रविधिबाट हालसम्म कुल ३० किलोवाट भन्दा बढी विद्युत् उत्पादन भइरहेको छ । देशका विभिन्न स्थानमा जडित ती प्रविधिबाट ५ सय २५ घर परिवारले विद्युत् प्राप्त गरिरहेका छन् ।

नेपालमा कुल ३ हजार मेगावाट वायु ऊर्जा उत्पादन गर्न सकिने प्रारम्भिक तथ्यांक देखिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी)ले वायु ऊर्जा उत्पादनका लागि देशका २१ स्थानमा गरेको मापनबाट उक्त परिमाणमा विद्युत् निकाल्न सकिने निष्कर्ष आएको हो । त्यसमध्ये कैलाली, जुम्ला र मुस्ताङबाट १÷१ मेवा वायु ऊर्जा उत्पादन गर्न सकिने एईपीसीले जानकारी दिएको छ । ईपीसीले सन् २००८ मा सञ्चालन गरेको सोलार एन्ड विन्ड इनर्जी रिसोर्स एसेस्मेन्ट र सन् २०१६ मा सञ्चालन गरेको इनर्जी सेक्टर म्यानेजमेन्ट असिस्टेन्ट प्रोग्राम परियोजनाबाट वायु ऊर्जाको तथ्यांक संकलन गरेको हो ।

नेपालमा रहेको वायुको बहावलाई ऊर्जामा परिणत गर्ने हो भने वायु ऊर्जाको अंश यहाँ उत्पादन हुने कुल विद्युत्को उल्लेख्य अंश हुने दाबी गरीएको छ । एशियाली विकास बैंक तथा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा एईपीसीले सन् २०१५ देखि वायु ऊर्जाको तथ्यांक संकलन गर्दै आएको छ । यसबाट ठूलो परिमाणमा वायु ऊर्जा उत्पादनको सम्भाव्यता खोजी भइरहेको बताएको छ ।

वायु ऊर्जाको तथ्यांक संकलन गर्ने एईपीसी एकमात्र निकाय हो । तथापि निजीक्षेत्रका केही कम्पनी र केही अनुसन्धानकर्ताले पनि विभिन्न स्थानमा उपकरण जडान गरी वायु ऊर्जाको तथ्यांक निकाल्ने प्रयास गरिरहेका छन् । निजीक्षेत्रकै ‘विन्ड पावर नेपाल’ संस्थाले केही महीनादेखि मुस्ताङको छुसाङमा वायु ऊर्जा उत्पादनको तथ्यांकका लागि उपकरण जडान गरेको छ ।

वायु ऊर्जाबाट ५ सय २५ घर लाभान्वित एईपीसीले ससाना एकाइमा उत्पादन हुने गरी जडान गरेका वायु ऊर्जा प्रविधिबाट हालसम्म कुल ३० किलोवाट भन्दा बढी विद्युत् उत्पादन भइरहेको छ । देशका विभिन्न स्थानमा जडित ती प्रविधिबाट ५ सय २५ घर परिवारले विद्युत् प्राप्त गरिरहेको एईपीसीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार