क्रसर बन्द गर्ने निर्णयले निर्माण प्रभावित

बर्दिवासः महोत्तरीमा जिल्ला समन्वय समिति महोत्तरीले क्रसर उद्योग बन्द गर्ने निर्णय गरेपछि यहाँका निर्माण कार्य प्रभावित हुने भएका छन् । सडक, भवन, पुलपुलेसा र सिँचाइ आयोजनासहित सर्वसाधारण नागरिकका निर्माण कार्य समितिको निर्णयले प्रभावित भएको हो ।

जिल्लामा सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारले सञ्चालन गरेका विकास निर्माणका धेरैजसो योजना, आयोजना र विकास पूर्वाधारको काम अघि बढाउन चाहिने नदीजन्य वस्तु (बालुवा, ढुङ्गा) क्रसर बन्द गर्ने निर्णयसँगै आपूर्ति नहुने भएपछि निर्माण कार्य प्रभावित हुने स्थिति देखिएको छ । धमाधम निर्माणका काम गरिनुपर्ने हिउँदको उपयुक्त समयमा क्रसर सबै बन्द गर्ने निर्णय हुँदा सामग्री (बालुवा, ढुङ्गा) को अभावमा काम रोकिने स्थिति बनेको भङ्गाहा नगरपालिका–४ का वडाअध्यक्ष अशोककुमार महतो बताउँछन् ।

जिल्ला समन्वय समिति महोत्तरीले क्रसर सञ्चालकले उद्योग सञ्चालनका कानूनी आधार देखाउन पटकपटक आग्रह गरिँदा पनि सो देखाउन अटेर गरेर उत्खनन् भने जारी राखेपछि तत्काल क्रसर उद्योग बन्द गर्ने बुधबार निर्णय गरेको थियो ।

समितिको निर्णयलगत्तै क्रसर सञ्चालकले समान नरहेको भन्दै मागकर्तासँग बढी मूल्यको माग गर्न थालेका गुनासो बढेको छ । प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन हुन नहुने आफूहरुले बताउँदै आए पनि क्रसर बन्द गर्न नभई नियमअनुसार नियमन गरिनुपर्ने आवाज उठाउँदै आएको भङ्गाहा–४ का सामाजिक कार्यकर्ता नारायण दाहाल बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार