काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माण कार्य सुरु, मेयर शाक्यद्वारा उद्घाटन

काठमाडौंः काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माण कार्य सुरु गरिएको छ । काठमाडौंको वडा नम्बर १५ स्थित चःमति जग्गा एकीकरण आयोजनाको क्षेत्र भित्र वृद्ध पार्क बनाउन सूरु गरिएको हो ।

शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो वृद्ध पार्क निर्माण कार्यको शिलान्यास गर्दै समयमै सो निर्माण कार्य पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

उनले काठमाडौं महानगरपालिकाका सबै वडालाई हरियाली बनाउने अभियान अन्तरगत वडा नम्बर १५ स्थित चःमतिमा वृद्ध पार्क बनाउन लागिएको पनि स्पष्ट पारेका छन् । अतिक्रमणमा परेका महानगरपालिकाका जग्गामा हरियाली पार्क निर्माण गर्ने मेयर शाक्यको योजना छ । उनले काठमाडौंको वातावरणलाई प्रदुषित हुन नदिन काठमाडौं महानगरपालिकाले छिमेकी १० वटा नगरपालिकालाई पार्कलगायतका हरियाली स्थल निर्माणका लागि एक करोडका दरले आर्थिक सहायता उपलब्ध गराएको पनि स्मरण गराए ।

काठमाडौं महानगरपालिकाको ४५ लाख, चःमति जग्गा एकीकरण आयोजनाको १५ लाख र स्थानीयबासीको ८ लाख गरी ६८ लाखमा सो पार्क निर्माण गर्न लागिएको हो । २ रोपनी जग्गामा सो पार्क निर्माण गर्न लागिएको चःमति नेवाः खलःका अध्यक्ष पूर्णकाजी ज्यापूले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार