मानवीय गतिविधिका कारण लोपोन्मुख अवस्थामा रातो हाब्रे

जुम्लाः विश्वको एक दुर्लभ स्तनधारी जनावर रातो हाब्रे (रेडपाण्डा) मानवीय गतिविधिका कारण पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको छ ।

चोरी सिकार, वनजङ्गल फँडानी, चेतनाको कमीलगायतका कारणले गर्दा लोपोन्मुख हाब्रे संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । पहिला घरआँगनमै देखिने हाब्रेलगायत अन्य दुर्लभ वन्यजन्तु हिजोआज जङ्गलमा पनि देखिन छोडेका छन् ।

हाब्रे नेटवर्कको समन्वयमा कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाले सिञ्जा र पातारासी गाउँपालिकामा हाब्रे संरक्षणका लागि अभियानका रुपमा काम गर्दै आएको छ । एक सय ५० सामुदायिक वनसँग समन्वय गरी हाब्रेको संरक्षण गर्नुका साथै चोरी सिकारीलाई न्यूनीकरण गर्ने कार्य गरेको हो ।

सरकारले हाब्रे संरक्षणका लागि छुट्टै नीति बनाए तापनि अन्य जनावर जस्तै, हाब्रेलाई प्राथामिकता नदिँदा सङ्कटमा परेको अनुसन्धानले देखाएको हाब्रे नेटवर्क अनुसन्धानकर्ता सरोज श्रेष्ठले बताएका छन् ।

उनले हाल नेपालमा ५०० मात्रै हाब्रे छन् भने ४३ प्रतिशत हाब्रेको बासस्थान कर्णालीमा रहेको अनुसन्धानले देखाएको बताएका छन् । अनुसन्धान अनुसार जुम्लाका गिडिखोला, देपालगाउँ, ताम्ती, पातारासी, रिया, लगायतका क्षेत्रमा आवश्यक बासस्थान उपयुक्त रहेको अर्का अनुसन्धानकर्ता प्रगति शाहीले बताए ।

वन्यजन्तुको चोरी सिकारी पछिल्लो समय बढ्दै गएको तर दण्ड सजाय नहुनु प्रमुख समस्याका रुपमा देखिएको छ । मानवीय आवश्यकता परिपूर्ति गर्नका लागि वनजङ्गल विनाश भए तापनि चोरी सिकारी नै प्रमुख समस्याका रुपमा देखिएको अनुसन्धानकर्ताको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार