बम्जन आश्रममा प्रहरीले थप अनुसन्धान अघि बढायो

 

तपस्वी भनिएका रामबहादुर बम्जनको आश्रममा प्रहरीले केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ । सिन्धुपाल्चोक बाँडेगाउँ, सिन्धुली र बाराको रतनवुर हलखोरियो जंगलको आश्रममा प्रहीले अनुसन्धान तिब्र बनाएको हो । बम्जनको आश्रमबाट बेपत्ता भएका मकवानपुरका सञ्चलाल वाईबामा केन्द्रीत भएर अनुसन्धान अघि बढाएको छ । प्रहरीले बम्जनको आश्रमबाट हराएका ब्यक्तिको खोजीका लागि तालिम प्राप्त कुकुर प्रयोग गरेको छ । केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलबाट ‘सर्च एण्ड रेस्क्यू’ मा प्रयोग हुने कुकुर बमजनको आश्रममा अनुसन्धानमा प्रयोग गरेको छ । उनी सिन्धुपाल्चोक आश्रमबाटै हराएको भन्ने परिवारको दाबीपछि अनुसन्धान उनमै केन्द्रीत गरिएको हो ।
‘तालिमप्राप्त कुकुर प्रयोग गरी प्राप्त गरेका प्रमाणका बारेमा अनुसन्धान भईरहेको छ, भेटिएका वस्तुको थप परिक्षण भइरहेकाले यसलाई अहिले गोप्य नै राखिएको छ,’ केन्द्रिय अनुसन्धान व्युरोका निर्देशक निरज बहादुर शाहीले भने ।
विषेशगरी सिआईबी र पं्रहरी टोली सिन्धुपाल्चोक सिन्धुलीस्थित बमजनको आश्रममा केन्द्रित छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आवश्यक पर्दा केन्द्रीय अनुसन्धान ब्यूरो र केन्द्रका अन्य प्रहरी युनिटले सिन्धुपाल्चोक र सिन्धुली प्रहरीलाई सहयोग गरिरहेका छन् । प्रहरीले अनुसनधानको लागी एकजना डिएसपीको नेतृत्वमा अनुसन्धान टोली बनाएको छ ।

प्रयोगशालामा के आयो रिर्पाेट ?
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले डिएसपीको कमाण्डमा ४५ प्रहरीलाई खटाएर बम्जनको बाँडेगाउँमा रहेको आश्रममा छानबिन गरेको थियो । प्रहरीले ८० रोपनी क्षेत्रफलमा फैलिएको बाँडेगाउँ आश्रमका साथै आसपासका ५ सय मिटर क्षेत्रफलमा खोजी गरेको थियो । आश्रमबाट केही शंकास्पद वस्तु संकलन गरेर विधि विज्ञान प्रयोगशालामा पनि पठाएको थियो । सो बस्तुको प्रयोशालामा परिक्षण गरी त्यसबाट प्राप्त प्रमाणको आधारमा थप अनुसन्धान अगाडी बढाएको छ । प्रहरीले धेरै समय पहिले भएको घटना र धेरै प्रमाण समेत नष्ट भएकोले अनुसन्धानको रिर्पाेट गोप्य राखेको छ । ‘बेपत्ता भएको भनेर उजुरी परेका व्यक्तिलाई आश्रममै हत्या गरेर शब गाडिएको र कंकाल जलाएको आशंका छ,’ एक प्रंहरी अधिकारीले न्यूज कारोबारसंग भने, ‘यो रहस्यमयी घटनाको अनुसन्धान भईरहेको छ ।’
आश्रममा रहेका अनुयायीको बयानमा समेत भिन्नता देखिएकोले बमजन आश्रम भित्र व्यक्ति हत्या भएको हुनसक्ने प्रहरीले ठहर गरेको छ । ठोस प्रमाण फेला नपरेपनि पक्राउ परेका २ जनाको बयानबाट समेत प्रहरीले घटनाबारेमा धेरै प्रमाण पत्ता लगाएको जनाईएको छ । ठोस प्रमाण फेला नपरेकोले हालसम्म प्रहरीले बम्जनसँग सोधपुछ नगरेको वा नियन्त्रणमा नलिईएको जनाइएको छ ।
को को कंहाबाट हराए ?
यस्तै बम्जनको आश्रमबाट ५ जना बेपत्ता भएको उजुरी परेको छ । २०६९ देखि २०७२ बिचमा चारजना अनुयायी हराएको निवेदन उपर अनुसन्धान भइरहेका बेला केही दिनअघि पाँचौ ब्यक्ति पनि बेपत्ता भएको निवेदन परेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय सोम्नी बोटेले आफ्नी २९ वर्षीय छोरी रिता बोटे खोजिदिन भन्दै गएको बुधबार निवेदन दिएकी छन् ।
यसअघि बारामा सुरेश आलेमगर, मकवानपुरमा सन्चलाल वाईबा र फुलमाया रुम्बा (पासाङ) र नुवाकोटमा चुल्मा र कर्मा भनेर बोलाइने चिनिमायाँ तामाङ हराएको भन्दै खोजिदिन आफन्तले निवेदन दिएका थिए । बमजन आश्रमबाट ५ जना बेपत्ता भएको उजुरी परेपनि अझै अरु केही वेपत्ता भएका वा पीडित भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
हेटौंडा उपमहानगरपालिकाका सन्चलाल वाईबा २०७१ चैत्र १४ देखि गायब छन् । छोरा महेन्द्रले दिएको निवेदनमा सञ्चलाल सिन्धुपाल्चोक आश्रमबाट हराएको उल्लेख गरेका छन् । यस्तै सिन्धुपाल्चोक आश्रमबाटै फुलमाया रुम्बा (पासाङ) समेत हराएको भन्दै खोजिदिन भाई विजय रुम्बाले निवेदन दिएका छन् । उनले दिदी सम्पर्क बिहिन भएकाले खोजिदिन भन्दै निवेदन दिएका हुन् ।
यस्तै ३४ वर्षीय छोरा सुरेश आलेमगर हराएको भन्दै बारा प्रहरी र जिल्ला प्रशासनमा बुवा हस्तबहादुर आलेले निवेदन दिएका छन् । नुवाकोट मेघान गाँउपलिकाकी चिनिमायाँ तामाङ २०६९ सालमा घर आएकी थिइन । चुल्मा र कर्मा भनेर बोलाइने उनी तपस्वी बम्जनको आश्रममा आनी थिइन । नुवाकोटबाट सिन्धुली जान हिँडेकी उनी त्यसयता सम्पकबिहीन छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार