स्वाइनफ्लु भनी प्रचार गरेको सिजनल इन्फ्लुएन्जा के हो, कसरी बच्ने

सञ्जय श्रेष्ठ

विभिन्न संचार माध्यमहरुमा स्वाइनफ्लु बारेमा समाचार प्रशारण तथा प्रकाशन हुदाँ इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिज्ञप्ति नै निकालेर यसबारेमा महाशाखाको ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौँ लगायत अन्य जिल्लाहरुमा स्वाइन फ्लुको कारणले अस्पतालमा बिरामीहरुको मृत्यु भएको तथा सयौं बिरामीहरु भर्ना भई उपचार गराईरहेको भन्ने सन्देश अनलाइन तथा पत्र–पत्रिकाहरुमा केही दिन अगाडी देखी प्रकाशित प्रसारित भईरहेको पाइएको भन्दै संचार माध्यम र सर्वसाधारणलाई यस विषयमा जानकारी दिन विज्ञप्ति जारी गरिएको वरिष्ठ स्वास्थ्य प्रशाशक कुन्ज प्रशाद जोशीले बताए ।

स्वाइफ्लु होइन, इन्फ्लुएन्जा ,
नेपालमा हालसम्म बंगुरबाट मानिसमा सर्ने स्वाइनफ्लु जुन विरलै मानिसमा सर्ने गर्दछ । जुन अहिले देखिएको छैन । हाल देखापरेको यो रोगलाई संचारमाध्यमहरुमा स्वाइन फ्लु भनिएको भएता पनि यो रोग मानिसबाट मानिसमा सर्ने सिजनल इन्फ्लुएन्जा भएको महाशाखाले बिज्ञप्तिमा भनेको छ । सिजनल इन्फ्लुएन्जा कुनै नयाँ रोग नभई श्वास–प्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने तीब्र खाले संक्रामक रोग हो । जाडो मौसममा तथा मौसम परिवर्तन हुने वेलामा अघि पछिको भन्दा मौसमी रुखाखोकी सहितको ज्वरो सिजनल इन्फ्लुएन्जाबाट प्रभावित बिरामीहरुको संख्या बढ्ने गरेको पाइएको छ ।

इन्फ्लुएन्जा के हो,
यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा खोक्दा वा हाच्छिउ गर्दा सर्न सक्छ । यो रोग प्राय सामान्य रुघाखोकीको रुपमा देखा पर्दछ र यी लक्षणहरु केही दिनमा आफैँ हराएर जान्छ, भने केही मानिसमा जटिलताहरु पनि देखा पर्न सक्छ । बिशेष गरी गर्भवती महिला, ५ वर्ष मूनिका बालबालिका, ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक, रोग प्रतिरोध क्षमता कम भएका व्यक्तिहरु र दीर्घ रोग (मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धिरोग, दम र अन्य श्वास–प्रश्वास सम्बधि दीर्घ रोग, आदि) बाट प्रभावितहरुमा यसको जोखिम बढी हुन्छ र मृत्यु हुने सम्भावना पनि अन्य भन्दा बढी हुन्छ ।

एक जानाको मृत्यु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत पुस महिनामा इन्फ्लुएन्जा प्र्रमाणित भएको एक व्यक्तिको मृत्यु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा २०७५ मंसिर महिना देखी पौष २६ सम्म ३३४ जना बिरामीहरुको घाँटीको ¥यालको नमुना परिक्षण गरिएकोमा १६८ जना बिरामीहरुमा इन्फ्लुएन्जा प्रमाणित भएको महाशाखाले जनाएको छ । ती मध्ये १४६ जनामा (इन्फ्लुएन्जा ए एज १ एन १ पिडीएम ०९) , ९ जनामा( इन्फ्लुएन्जा ए एज ३) र १३ जनामा ( इन्फ्लुएन्जा बी ) प्रमाणित भएको महाशाखाले जानकारी दिएके छ । । रोगको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा निशुल्क गरिन्छ ।
उक्त रोगबाट बच्ने उपाय बारे सूचना सन्देशहरु निरन्तर रुपमा प्रबाह भईरहेको र रोगको उपचार विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट भइरहेको स्वास्थ्य सेवा बिभागले जानकारी दिएको छ । प्रकोप व्यवस्थापनका लागि केन्द्र देखी स्थानीय तह सम्मका स्वास्थ्य संस्थाहरुलाई सजग र तयारी अवस्थामा राखिएको बिभागले जनाएको छ ।

सिजनल इन्फ्लुएन्जाका लक्षण र चिन्हहरु
१.ज्वरो आउने (३८ डिग्री सेल्सियस भन्दा बढी)
२.खोकी लाग्ने
३.घाँटी दुख्ने
बालबालिकामा देखिन सक्ने थप लक्षणहरुस्
१.वाकवाकी लाग्ने वा वान्ता हुने
२.पेट मडारिने
३.झाडा पखाला

इन्फ्लुएन्जाका सामान्य लक्षण र चिन्हहरु
१.हाँच्छिउ आउने
२.नाकबाट पानी बहने वा नाक बन्द हुने
३.टाउको दुख्ने
४.मांसपेशी दुख्ने
५.हाड जोर्नी दुख्ने
६.आलस्य हुने

इन्फ्लुएन्जाबाट बच्ने उपायहरु
१.खोक्दा, हाच्छिउँ गर्दा नाक, मुख छोप्ने (सफा रुमाल,कपडा वा पाखुराले)
२.सही तरीकाले साबुन पानीले पटक पटक हात धुने ।
३.हात नमिलाउने, नमस्कार गर्ने ।
४.दुरी कायम गर्ने । (अन्य व्यक्तिसँग कम्तीमा १ मिटर वा २ हात टाढा रहने )
५.रोगीलाई बेग्लै वा खुला झ्याल भएको कोठामा राख्ने (सम्भव भएसम्म रोगीलाई अन्य व्यक्ति भन्दा अलग्गै राख्ने )
६.आँखा, नाक तथा मुखमा अनावश्क रुपमा हात नलैजाने ।
७.जथाभावि नथुक्ने वा सिंगान नफाल्ने ।
८.शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बस्ने ।
९.रुघाखोकी लागेका व्यक्तिहरु ३–५ दिन सम्म घरमै आराम गरेर बस्ने ।
१०.रोगी व्यक्तिलाई पौष्टिक खाना र प्रशस्त मात्रामा झोलिलो खानेकुरा, भातको माड, दालको रस,तरकारीको रस, गेडागुडीको रस आदि खुवाउने ।
११.चुरोट रक्सी नखाने ।
१२.दुध चुस्ने उमेरका बच्चाहरुलाई साविक बमोजिम नियमित स्तनपान गराउने ।
१३.चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सल्लाह बिना औषधि नखुवाउने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार