समायोजनका लागि ७१ हजार कर्मचारीले आवेदन फारम भरे

कर्मचारी समायोजनका लागि ७१ हजार ५९८ जना कर्मचारीले आवेदन फारम भरेका छन् । फारम भर्ने म्याद बुधबार राति १२ बजेसम्ममा समायोजनमा जानका लागि साढे ७१ हजारले फाराम भरेका हुन् । म्याद सकिनैलाग्दा संघ रोज्दै नरोज्ने कर्मचारीको संख्या २५ हजारभन्दा बढी छ ।
मन्त्रालयले २१ दिने म्याद राखेर गत पुस १३ गतेदेखि अनलाइन आवेदन फारम खुल्ला गरेको थियो । कर्मचारीहरुलाई आफू समायोजन हुन चाहेको तह वा स्थान प्राथमिकता क्रमअनुसार एकभन्दा बढी रोज्ने विकल्प थियो । कर्मचारीको कूल दरबन्दी ८९ हजार हो । तर, केही पदहरु अतिरिक्त समूहमा छन् । महालेखा परीक्षक अन्तर्गतका कर्मचारीहरुले समायोजन फारम भर्नु पर्दैन । त्यसैगरी अवकास हुन केही समय बाँकी भएकालाई पनि फारम भर्न अनिवार्य छैन । तर फारम नभरेकालाई पनि समायोजन गर्न बाधा नपर्ने कर्मचारी समायोजन अध्यादेशमा व्यवस्था छ ।
समायोजनमा जानका लागि आवेदन दिनेहरु मध्ये प्रदेश रोज्नेको संख्या ५८ हजार ६२३ छ भने स्थानीय तह रोज्नेको संख्या ३ लाख ४५ हजार २ सय २५ छ । मन्त्रालयले तथ्यांक एकीकृत गरिसकेपछि माथिल्लो तहका कर्मचारी अर्थात सचिव र सहसचिवबाट समायोजनको काम सुरु गर्ने जनाएको छ । फारम भर्ने म्याद सकिएपछि डाटा प्रोसेसिङका लागि केही समय लाग्नेछ । अर्को हप्ताबाट कर्मचारीको समायोजन प्रक्रिया सुरु हुने मन्त्रालय निकट स्रोतको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार